News-“अनाथको छात्रवृतिमा “हुने-खाने”का छोराछोरी”

 

काठमाडौँ — नेपाल बाल संगठनका तत्कालीन सञ्चालक र कर्मचारीले अनाथ बालबालिकाको कोटा दुरुपयोग गरी हुने–खानेका छोराछोरीलाई छात्रवृत्ति दिएको खुलेको छ । सांसद, व्यापारी र कर्मचारीका छोराछोरीलाई ‘अनाथ’ र ‘विपन्न’ प्रमाणित गरी नेपाल बाल संगठनका तत्कालीन सञ्चालक र कर्मचारीको मिलेमतोमा बृहस्पति विद्या सदनमा भर्ना गरेको पाइएको हो ।

२०४९ देखि २०७६ सम्म बाल संगठनमा अध्यक्ष रहेकी रीतासिंह वैद्य, उनको कार्यसमिति र कर्मचारीको मिलेमतोमा अनाथको कोटा दुरुपयोग भएको बाल संगठनले जनाएको छ ।

बाल संगठनमा आश्रय लिइरहेका अनाथ बालबालिकाको छात्रवृत्ति कोटा दुरुपयोग गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । बाल संगठनले पनि तत्कालीन पदाधिकारी र कर्मचारीबाट भएको दुरुपयोगमाथि आन्तरिक छानबिन अघि बढाएको छ । ‘अनाथ बालबालिकाको छात्रवृत्ति कोटामा सांसददेखि व्यापारी र संगठनकै पूर्वपदाधिकारी/कर्मचारी एवं पहुँच र प्रभाव भएका व्यक्तिका छोराछोरीले पढेको देखियो, यो दुरुपयोग सर्त र सम्झौताविपरीत त छँदै छ, अनाथ/टुहुरा बालबालिकामाथि भएको यो अन्याय पनि हो । यस विषयमा अख्तियारले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।’ उनले बदनियतपूर्ण सिफारिसलाई ‘सेटिङमै सदर’ गरेर बृहस्पतिले अनाथ बालबालिकाको कोटामा हुने–खानेका छोराछोरी पढाएको बताए ।

२०२१ सालमा सरकारले व्यक्तिबाट अधिग्रहण गरी सार्वजनिक हितका लागि प्रयोगमा ल्याएको नक्सालस्थित नेपाल बाल संगठनको करिब २९ रोपनी ४ आना जग्गा सेटिङमा विसं २१३१ सम्मका लागि सस्तो लिज हात पारेको बृहस्पतिले मासिक भाडाबाहेक २० जना अनाथ बालबालिकालाई निःशुल्क पढाउने सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार बाल संगठनमा आश्रय लिइरहेकामध्येबाट २० जनालाई बृहस्पतिले पढाउनुपर्छ तर त्यो कोटामा हुने–खानेका छोराछोरीलाई निःशुल्क पढाएको छ । त्यतिमात्र होइन, २०४९ सालबाटै अनाथका लागि कोटा तोकिए पनि हालसम्म बाल संगठनमा आश्रय लिएका कसैले पनि बृहस्पतिमा भर्ना पाएका छैनन् । बृहस्पतिबाट यसबारे विवरण माग्दा सबै विवरण उपलब्ध नगराएको नेपाल बाल संगठनकी हालकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । उनले बाल संगठनमा आश्रय लिएका कसैले पनि पढ्न नपाएका कारण तथ्य खुल्ने डरले विवरण नदिएको हुन सक्ने बताइन् । ‘२०४९ सालबाटै बाल संगठनका २० जनाले बृहस्पतिमा निःशुल्क पढ्न पाउने गरी सम्झौता भएकामा अहिलेसम्म बाल संगठनका कसैले पनि पढ्न पाएका छैनन्, सबै बाहिरका मान्छेले अनाथको कोटामा सोर्सफोर्समा पढाएको देखियो,’ न्यौपानेले कान्तिपुरसँग भनिन्, ‘यसको सबै विवरण माग्दा पनि विवरण दिन इन्कार गरेको छ ।’

कतिसम्म भने अनाथ बालबालिकाको छात्रवृत्ति कोटा दुरुपयोग गर्नेमा कांग्रेसका तर्फबाट वाग्मती प्रदेश सांसदसमेत रहेका कीर्तिपुरका पुकार महर्जन पनि छन् । उनले आफ्ना दुई छोरीलाई ‘विपन्न’ र आर्थिक अवस्था नाजुक रहेको प्रमाणित गर्न लगाएर बृहस्पतिमा छात्रवृत्तिमा पढाएका छन् । पुकारकी श्रीमती रमा व्यञ्जनकार पनि बाल संगठनकी पूर्वनिमित्त प्रशासन प्रमुख हुन् । पुकार र रोमाले दुई छोरीलाई अनाथको कोटामा बृहस्पतिमा पढाएका थिए । एक जना २०७७ मा बृहस्पतिबाटै एसईई पास गरेर बाहिरिसकेकी छन् भने अनाथको कोटा दुरुपयोग गरेको हल्ला चलेपछि अर्कीलाई बृहस्पतिबाट अलग गराएर अन्यत्रै भर्ना गरेको खुलेको छ ।

निरोजकुमार भण्डारी पूर्वकामु निर्देशक हुन् । उनी नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता पनि हुन् । उनले दुई छोरालाई अनाथको कोटामा बृहस्पतिमा पढाइरहेका छन् । अहिले एक जना कक्षा ३ र अर्का कक्षा ६ मा अध्ययनरत छन् । उनले २०७२ को विनाशकारी भूकम्पपछि आर्थिक स्थिति निकै नाजुक भएर बच्चा पढाउन नसकेकाले बाल संगठनमा निवेदन दिएर छात्रवृत्तिमा बृहस्पतिमा भर्ना गरेको उनले दाबी गरे । ‘बच्चाहरू छात्रवृत्तिमा पढेको कुरा सही हो तर त्यसको पृष्ठभूमि विनाशकारी भूकम्पपछिको अवस्थाले सिर्जना भएको हो,’ उनले भने ।

बृहस्पतिमा अनाथको छात्रवृत्ति दुरुपयोग गरी छोराछोरी पढाउनेमा रामकृष्ण कँडेल पनि हुन् । उनी रीता वैद्य अध्यक्ष रहेको बेलाका कोषाध्यक्ष हुन् । उनले एक छोरीलाई अनाथ कोटामा बृहस्पतिमा पढाइरहेका छन् । अहिले उनकी छोरी बृहस्पतिमा ८ कक्षामा अध्ययनरत छिन् । बुद्धिगम्भीर पण्डित बाल संगठनमा ग्यास आपूर्ति गर्ने व्यक्ति हुन् । उनी नेपाल ग्यास कम्पनीका कर्मचारी पनि हुन् । उनले बाल संगठनमा आश्रय लिई बसेका अनाथको कोटामा एक छोरालाई निःशुल्क पढाइरहेका छन् । उनका छोरा कक्षा १० मा अध्ययनरत छन् । रामकृष्ण महर्जन पूर्वअध्यक्ष रीतासिंह वैद्यका सवारी चालक हुन् । वैद्यले आफ्ना चालक महर्जनकी छोरीलाई निःशुल्क पढाउन सिफारिस गरेकी थिइन् । महर्जनकी छोरी २०७७ मा एसईई उत्तीर्ण भई विद्यालयबाट बाहिरिसकेकी छन् ।

यसैगरी बृहस्पतिका अपरेसन डिपार्टमेन्ट प्रमुख विनोद बडालले आफ्ना पारिवारिक नातेदार विक्रम केसीकी छोरीलाई अनाथको कोटामा भर्ना गराएका छन् । उनी बृहस्पतिमा कक्षा ९ मा अध्ययनरत छिन् । बडालले बाल संगठनबाट सिफारिस भएर आएका विद्यार्थीलाई छात्रवृत्तिमा पढाएको भन्दै यो विषयको जवाफदेही संगठन नै हुने बताए । अनाथको कोटामा हुने–खानेले निःशुल्क छोराछोरी पढाएका अरू थुप्रै तथ्य छन् । बृहस्पतिले बाल संगठनलाई एक वर्षअघि उपलब्ध गराएको विवरणअनुसार विसं २०६८ देखि २०७७ सम्म बाल संगठनको सिफारिसमा निःशुल्क अध्ययन गर्ने छात्रछात्राको सूचीमध्ये २०७७ मा १९, २०७६ मा २१, २०७४ मा १९ र बाँकी आवमा २० जनाको दरले निःशुल्क छात्रवृत्तिमा अध्ययन गराएको उल्लेख छ । यो अवधिमा १ सय ९९ जनालाई निःशुल्क पढाइएको बृहस्पतिको दाबी छ तर यो अवधिमा एक जना पनि बाल संगठनका अनाथ/असहाय बालबालिकाले पढ्ने अवसर पाएनन् । २०४९ देखि २०६७ को अवधिमा बाल संगठनबाट सिफारिस भई निःशुल्क पढेका विद्यार्थीको विवरण बृहस्पतिले दिन नमानेको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

नेपाल बाल संगठनका तत्कालीन सञ्चालकहरूको मिलेमतोमा विसं २०४९ बाटै संगठनको जग्गा सस्तोमा हात पारेर बृहस्पति त्यस परिसरमा छिरेकामा अहिले २९ रोपनी ४ आना क्षेत्रमा भव्य महलसहित विद्यालय सञ्चालन गरिरहेको छ । तर, लिज सम्झौता पालनामा बृहस्पतिले अटेरी मात्रै होइन, अनाथ बालबालिकालाई उपलब्ध गराउनुपर्ने सुविधा पनि दिएको छैन ।

प्रकाशित : फाल्गुन १५, २०७८ ०८:११